काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा पनि कर्नाटक टस्कर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार बलिङ गरेका छन् ।
सन्दीपले आज आन्द्रे फ्लेचर र कप्तान थिसरा परेराको विकेट लिन सफल भएका हुन् । उनले विस्फोटक ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई ४० र परेरालाई ३ रनमा आउट गरे । सन्दीपले आज २ ओभरमा महत्वपूर्ण २ विकेट लिएर ९ रन मात्र दिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा १ विकेट गुमाएर १ सय १४ रन बनाए ।
उसका लागि जनसन चार्ल्सले विस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र ४ चौकाको मद्दतमा २९ बलमा ५७ रन बनाए ।
यस्तै कप्तान हसिम अमला ४७ र रस व्हाइटली २ रनमा नटआउट रहे । बलिङमा बंगला टाइगर्सका केविन कोटियाकोडाले एक विकेट लिए ।
आजै भएको पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध पारस खड्काआवद्ध टिम आबुधाबी ६ विकेटले विजयी भएको छ ।