धारापानी आधारभूत विद्यालयका प्रधानाध्यापक तलब जुटाउन घरघर

धनकुटाः चौविसे गाउँपालिका–२ सिन्धसारको धारापानी आधारभूत विद्यालयका प्रधानाध्यापक कैलाश ढुंगाना हरेक चौमासिकको अन्त्यमा अभिभावकको घर÷घरमा पुग्छन्। विद्यालयमा निजि स्रोतमा कार्यरत दुई शिक्षकको तलब भरणपोषण गर्न उनी अभिभावकसँग सहयोग माग्छन्। चौमासिकको अन्त्यमा अभिभावकसँग रकम मागेर अर्को चौमासिकको सुरुवातमा शिक्षकलाई तलबभत्ता खुवाउँछन्।

विद्यालयको आन्तरिक स्रोत नहुँदा निजी स्रोतमा कार्यरत शिक्षकलाई अभिभावकसँग आर्थिक सहयोग मागेर तलब खुवाउँदै आएको ढुंगाना बताउँछन्। शिशुदेखि ८ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक सय २१ जना विद्यार्थी अध्ययनरत छन्। अभिभावकसँग प्रति विद्यार्थी २ हजार ३ सय का दरले आर्थिक सहयोग मागिएको उनले बताए।

७ जना शिक्षकसहित विद्यालयमा ११ जना कर्मचारी कार्यरत छन्। पाँच दरबन्दीमध्ये प्रअ ढुंगाना मात्र स्थायी शिक्षक हुन्। बाँकी चार जना करारमा छन्। निजी स्रोतका २ जना शिक्षक विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको हो। ३ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी छन्। अभिभावकसँग सहयोग नउठाए विद्यालय सञ्चालन गर्न कठिन छ।

देउसीभैलोको सहारा

निजी स्रोतबाट नियुक्त भएका शिक्षकलाई तलब खुवाउन आर्थिक समस्या भएपछि विद्यालयले तिहारमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आर्थिक सहयोग संकलन गरेको छ। तिहारमा विद्यालयको पठनपाठन बन्द भए पनि विद्यार्थी, शिक्षक, अभिभावकको संयुक्त टोली बनाएर देउसीभैलोबाट रकम सहयोग मागिएको प्रधानाध्यापक कैलाश ढुंगानाले बताए।

‘देउसीभैलोबाट एक लाख ५७ हजार रुपैयाँ संकलन भयो,’ उनले भने, ‘यो रकम अक्षय कोषमा राख्छौं। यसको ब्याजबाट आउने रकम शिक्षकको तलबभत्तामा खर्च गर्न गरेका छौं।’ सधैँ अभिभावकसँग सहयोग मागेर मात्रै नहुने भएकाले हरेक वर्ष देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्