रोहितलाई भारतीय वानडे टिमबाट विस्थापित गर्न सक्छन् यी खेलाडी

काठमाडौंः टेष्ट क्रिकेटमा अहिले भारतीय क्रिकेटर मयंक अग्रवाल उत्कृष्ट लयमा देखिएका छन् । हालै मात्र उनले ८ टेष्ट म्याचमा तीन शतक र दुई दोहोरो शतक बनाएका छन् ।

टेष्टमा उत्कृष्ट लयकै कारण उनले वेस्ट इन्डिजसँग हुने एकदिवसीय सिरिजमा मौका पाउने सम्भावना बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मयंकले रोहित शर्माको स्थान लिनसक्ने छन् ।

हालसम्म उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टीमको हिस्सा बन्न सकेका छैनन् । लिस्ट ‘ए’ को प्रथम श्रेणी क्रिकेटपछि टेस्ट खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका २८ वर्षीय अग्रवालले हिटम्यान नामले प्रसिद्ध रोहित शर्मालाई कमसे कम एक शृंखलाका लागि विस्थापित गर्न सक्ने बताइएको छ।

रोहित शर्मा र मयंक अग्रवाल

खासमा रोहितलाई उनको खराब प्रदर्शन या अन्य कुनै समस्याका कारण टिममा स्थान नदिइएको भने होइन । अमर उजलाले लेखेको छ– रोहित शर्मालाई वेस्ट इन्डिजविरुद्धको शृंखलामा आराम दिएर मयंकलाई मौका दिइन सक्छ ।

आउँदो वर्ष भारतीय टिमको न्यूजिल्याण्ड भ्रमणलाई केन्द्रित गर्दै रोहितलाई वेस्ट इन्डिज विरुद्धको सिरिजमा विश्राम दिइनसक्ने अनुमान गरिएको छ ।

उक्त शृंखलामा उपकप्तान शर्मा भारतीय टिमको महत्त्वपूर्ण हिस्सा हुने आकलन गरिएको छ । न्यूजिल्याण्डविरुद्ध भारतले पाँच टी–२०, तीन एकदिवसीय र दुई टेस्ट खेल्ने तालिका छ ।

रोहितलाई आराम दिएर अग्रवाललाई मौका दिएको खण्डमा उनी सीमित ओभरका फर्म्याटमा रोहित शर्मा र विराट कोहलीको विकल्पको रूपमा उदाउन सक्ने भारतीय मिडियाले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्