सर्लाहीमा दुर्घटनाः एकको मृत्यु, पाँच घाईते

सर्लाहीः सर्लाहीको बेग्लाबेग्लै स्थानमा सोमवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–७, नमस्ते होटल अगाडि नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा लालबन्दी नगरपालिका–१६, परवानीपुरका ४० वर्षीय हेमबहादुर भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

शारीरिक रुपमा अशक्त भण्डारी नगरपालिकामा काम लिएर लालबन्दी आएका थिए । प्रत्यक्षदर्शीले भण्डारीलाई रातो–कालो रङ्गको पल्सर मोटरसाइकलले ठक्कर दिएर फरार भएको बताएका छन् । फरार मोटरसाइकलको खोजतलास जारी रहेको प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–१३, मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाईते भएका छन् । बरहथवाबाट बसबरियातर्फ गइरहेको बीआर ३० एच ५८१७ नम्वरको मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय हीरापुरले जनाएको छ । घाईतेहरुको बरहथवामा उपचार भइरहेको छ ।

यसैगरी, सर्लाहीको हरिपूर्व नगरपालिका–९, मा ज ५ प ५५८९ नम्वरको मोटरसाइकललाई ज १ त ८८७५ नम्वरको ट्याक्टरले ठक्कर दिँदा हरिपूर्वा नगरपालिका–९, बसन्तपुरका २१ वर्षीय इन्द्रजित यादव घाईते भएका छन् । घाइते यादवको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्