पिटिए कप्तान अलि, एकै ओभरमा दिए १८ रन !

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेल टिम आबुधाबीले खराब सुरुवात गरेको छ । टस जितेर बलिङ रोजेको टिम आबुधाबीले पहिलो ओभरमै १८ रन दिइसकेका छन् ।

आबुधाबीको पहिलो ओभरमा कप्तान मोइन अलि आफैं बलिङमा आएका थिए । उनले आफ्नो पहिलो ओभरमा २ छक्का, १ चौका र २ सिंगलसहित १८ रन खर्चिए । उनको बलमा आन्द्रे फ्लेचरले १७ रन बटुल्न सफल भए ।

बंगला टाइगर्सविरुद्ध पनि नेपाली क्रिकेट टिमका पूवकप्तान पारस खड्का प्लेइङ ११ मा अटाउन असफल भएका छन् ।

सुरुवातका २ खेलमा प्लेइङ ११ मा अटाउन सफल भएका पारस पछिल्ला २ खेलमा भने बेन्चमै बसेका हुन् ।

बंगला टाइगर्सविरुद्ध आबुधाबीले २ खेलाडी परिवर्तन गरेको छ । उसले निरोशन डिकवेला र वेन म्याडेसनलाई विश्राम दिएर अभिश्का फर्नान्डो र हेडेन वाल्शलाई प्लेइङ ११ मा समावेश गरेको छ ।

सोमबार पारसबिनै मैदान उत्रिएको टिम आवुधाबी मराठा अरबियन्सविरुद्ध २४ रनले पराजित भएको थियो ।

टी–२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै आधारमा पारसलाई आबुधाबीले टी–१० लिगमा छनोट गरेकाे हाे । तर, ब्याटिङ अर्डरमा छैठौँ नम्बरमा रहेकै कारण उनले यसअघिका दुई खेलमा मात्र ४ रन मात्र जोडेका छन् ।

दुवै खेलमा नटआउट रहेका पारसले राम्रो खेल देखाउने अवसर त पाएका छैनन् नै, नराम्रो प्रदर्शन पनि छैनन् ।

जारी लिगमा पारस १० हजार अमेरिकी डलरमा टिम आवुधाबीले अनुबन्ध गरेकाे छ । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा केही महिनाअघि पारसले शानदार सतक बनाएपछि टी–१० मा अनुबन्धित भएका थिए।

कमेन्ट गर्नुहोस्