टी–१० लिगः पारसबिनाको खेलमा आबुधाबीको लज्जास्पद हार

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा पनि पारस खड्काआवद्ध टिम आबुधाबी २७ रनले पराजित भएको छ । आबुधाबीको यो लगातार दोस्रो हो ।

बंगला टाइगर्सले दिएको १ सय ३० रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।

उसका लागि अभिश्का फर्नान्डोले सर्बाधिक ५१ रन बनाए । बलिङमा टाइगर्सका क्वाइस अहमदले सर्बाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगला टाइगर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रिले रोसउले सर्बाधिक नटआउट ४४ रन बनाए । बलिङमा आबुधाबीका बेन लाफलिनले सर्बाधिक २ विकेट लिन सफल भए ।

लगातार दोस्रो खेलमा पनि पारस बेन्चमै

सुरुवातका २ खेलमा प्लेइङ ११ मा समावेश गरिएका नेपाली क्रिकेट टिमका पूवकप्तान पारस खड्कालाई टिम आबुधाबीले पछिल्ला २ खेलमा भने बेन्चमै राख्यो ।

बंगला टाइगर्सविरुद्ध आबुधाबीले २ खेलाडी परिवर्तन गरेको थियो । उसले निरोशन डिकवेला र रिचर्ड ग्लेसनलाई विश्राम दिएर अभिश्का फर्नान्डो र हेडेन वाल्शलाई प्लेइङ ११ मा समावेश गरेको थियो । सोमबार पारसबिनै मैदान उत्रिएको टिम आवुधाबी मराठा अरबियन्सविरुद्ध २४ रनले पराजित भएको थियो ।

टी–२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै आधारमा पारसलाई आबुधाबीले टी–१० लिगमा छनोट गरेको हो । तर, ब्याटिङ अर्डरमा छैठौँ नम्बरमा रहेकै कारण उनले सुरुवातका दुई खेलमा मात्र ४ रन मात्र जोडेका थिए ।

दुवै खेलमा नटआउट रहेका पारसले राम्रो खेल देखाउने अवसर त पाएका छैनन् नै, नराम्रो प्रदर्शन पनि छैनन् ।

जारी लिगमा पारस १० हजार अमेरिकी डलरमा टिम आवुधाबीले अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा केही महिनाअघि पारसले शानदार सतक बनाएपछि टी–१० मा अनुबन्धित भएका थिए।

कमेन्ट गर्नुहोस्