युगान्डामा वितरण गरिएका १० लाख कन्डम फिर्ता मगाइयो, यस्तो छ कारण

काठमाडौंः एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ ।

परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ । मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब छ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन् । अर्को अध्ययन अनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ । मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ ।

‘यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौँ,’ मेरी स्टोप्सले बीबीसीलाई बताएको छ ।

गुणस्तर परीक्षणमा लाइफ गार्डका दुई खेप कन्डम विफल भएको भन्दै एनडीएले गत अक्टोबर ३० तारिखमा लेखेपछि पछिल्लो कदम चालिएको हो । पठाइएका ती खेपका कन्डममा देखिएका समस्याबारे र उच्च गुणस्तरको उत्पादनलाई जारी राख्ने विषयमा एनडीएसँग मिलेर काम गरिरहेको मेरी स्टोप्सले जनाएको छ ।

उसले अगाडि भनेको छ, ‘दुई खेपमा दश लाखवटा भन्दा बढी कन्डम भएका तीन लाख ३५ हजार प्याक हामीले फिर्ता लिइरहेको हामी पुष्टि गर्न सक्छौँ ।’ (बीबीसी)

कमेन्ट गर्नुहोस्