मेरो जीवन अब जनताकै सेवामा समर्पित गर्छुः विद्या भट्टराई

पोखराः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काकी उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा–३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् ।

कांग्रेस नेताहरु प्रकाश श्रेष्ठ, कृष्ण भुसाल, जीतबहादुर थापा, उमेश बराल लगायतलाई नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम र नेकपा उम्मेदवार भट्टराईले पार्टीमा स्वागत गरे । मंगलबार नेपाली कांग्रेस पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति नगेन्द्र शर्मा भण्डारीसहित ४० जना नेकपा प्रवेश गरेका थिए ।

उम्मेद्वार भट्टराईले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथि बन्ने प्रतिज्ञा गरेकी छन् । उनले त्यसै क्षेत्रका सांसदसमेत रहेका पति रवीन्द्र अधिकारीको गाउँमा भएको कोणसभामा विकास र समृद्धिको बाँकी सपना आफूले पूरा गर्ने बताइन् । उनले भनिन्, ‘देशको विकास र समद्धिको महाअभियान शुरु भएको छ, । मेरो जीवन अब जनताकै सेवामा समर्पित गर्छु ।’

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको बताए । उनले रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतिबद्धता गरे । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका काम गरिरहेको बताए । कार्यक्रममा नेकपा पोखरा ३३ का चुनावी कमान्डर भीम कार्की, प्रदेशसभा सदस्य दीपक कोइराला, नेकपा नेता धनराज आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा समृद्धिको यात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्