नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौंः नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

नवनियुक्त छ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तथा तीन राज्य मन्त्रीहरूलाई प्रधानमन्त्रीले केपी शर्मा ओलीले शपथ गराएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूमा वसन्त नेम्वाङ, घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी पार्वत गुरुङ, र रामेश्वर राय यादव छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसाललाई कृषिमन्त्रालय, भट्टलाई उद्योगमन्त्रालय, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र यादवलाई श्रममन्त्रालयको जिम्मेवारी दिएको छ ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई मन्त्रिबाट हटाइएको थियो ।

कमेन्ट गर्नुहोस्