१०२ वर्षे कम्युनिस्ट नेताको गुनासोः ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन’

प्यूठानः जिल्लाकाे  गौमुखी–७ नारीकोट रामखोला गाउँको ठूलाबेंसी सडकबाट करिब १० मिनेट उकालोपछि एउटा घरमा पुगिन्छ ।

जंगल बीचको त्यो घरमा बस्छन् कम्युनिस्ट नेता खगुलाल गुरुङ । गत भदौ २५ देखि १०२ वर्ष लागेका उनी राजनीतिमा सक्रिय छैनन् । तर चासो राखिरहन्छन् । अलि ठूलो सोरले बोले मात्रै सुन्छन् । उकालीओराली गरिरहने भएकाले फूर्तिला छन् ।

अहिलेको राजनीतिक व्यवस्थाप्रति उनी असन्तुष्ट छन् । भन्छन्, ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन ।’ गुरुङ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बुबा खिमविक्रमको संगत र प्रेरणाले राजनीतिमा लागेका हुन् ।

बागलुङमा जन्मिएका उनी बसाइँ सरेर प्यूठानको नारीकोट आए । कम्युनिस्ट राजनीतिमा लागेका कारण गाउँका केही अगुवाले जग्गा भोगचलन गर्न नदिएपछि उनी खिमविक्रमकहाँ सहारा माग्न पुगेका थिए । पछि उनले नै मोहनविक्रमलाई काठमाडौंस्थित दरबार हाईस्कुलमा पढाउन पुर्‍याए । ‘म खिमविक्रमकै प्रेरणाले राजनीतिमा लागेको हुँ,’ गुरुङ भन्छन्, ‘म त्यो बेलाकै राजनीतिक बाटोमै छु ।’

पछि समय यस्तो आयो, मोहनविक्रम र खगुलालले खिमविक्रमलाई ‘महासामन्त’ घोषणा गरे र उनीविरुद्ध दुवैले विद्रोह गरे । त्यसबेला खिमविक्रमविरुद्ध वर्गीय र नैतिक आचरणको विषयलाई लिएर राजनीतिक चर्चा चुल्याइएको थियो । कम्युनिस्ट राजनीतिमा लागेकाले ‘हुनेखाने’ वर्गविरुद्ध आन्दोलन उनीहरूले नै सुरु गरेका थिए । नेकपालाई प्यूठानमा विस्तारित गर्ने मुख्य श्रेय मोहनविक्रम र गुरुङमाथि जान्छ ।

‘हाम्रै नेतृत्वमा २००९ सालमा प्यूठानको रातामाटामा पहिलो कार्यकर्ता प्रशिक्षण गरिएको थियो,’ उनले सुनाए । उनीहरूले त्यतिबेला तीनमहिने शिविर चलाएका थिए । शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित शिविरमा सामेल भएकाहरूबाट जिल्लाभर कम्युनिस्ट पार्टी फैलिएको उनले बताए ।

शिविर चलाउन तत्कालीन बडाहाकिम प्रतिमानचन्द्र बोहराले साथ दिएका थिए । केही समयपछि कम्युनिस्टलाई साथ दिएको भनेर तत्कालीन सरकारले बडाहाकिमको सरुवा गरेको थियो । त्यसैबेला पाण्डेडाँडामा सात जनाको कमिटी बनाइएको थियो । संस्थापकमध्ये मोहनविक्रम र गुरुङ मात्र जीवित छन् । यो समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्