काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा घरेलु टिम बंगलादेशलाई ७७ रनले हराउँदै पाकिस्तानले इमर्जिङ एसिया कपको उपाधि जितेको हो ।
फाइनलमा पाकिस्तानले दिएको ३ सय २ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४३.३ ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान नाजमुल हुसेन शान्तोले ४६, अफिफ हुसैनले ४९, मेहदी हसनले ४२, यासिर अलिले २२, मोहम्मद नइमले १६, शौम्या सरकारले १५ रन बनाए ।
बलिङमा पाकिस्तानका खुश्दिल शाह, मोहम्मद हसनैनले २–२, उमीर खान, अम्द बुट्ट र सैफ बदर समीन गुलले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनायो ।
उसका लागि रोहेल नाजिरले शतक बनाए । उनले ३ छक्का र १२ चौकाको मद्दतमा १११ बलमा ११३ रन बनाए ।
यस्तै इमरान रफिकले ६२, कप्तान साउँद शकीलले ४२, खुश्दिल शाहले २७, हैदर अलीले २६ र अम्द बुट्टले नटआउट १५ रन बनाए ।
बलिङमा बंगलादेशका सुमन खानले ३, हसन महमूदले २ र मेहदी हसनले एक विकेट लिए ।
बंगलादेशले सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको थियो ।
समूह बी’ मा रहेको नेपाल भने भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।