कानून समूहका लागि जान्नैपर्ने कुराहरु (लोकसेवा र अन्य प्रतियोगीका लागि अति उपयोगी अन्तर्वार्ता)

देशमा नयाँ संविधान लागु भइसकेको छ । संघीय संसद तथा प्रदेश सभाबाट नयाँ ऐन कानूनहरु बन्ने काम जारी छन् । यस सन्दर्भमा विभिन्न आयोग, मन्त्रालय तथा विभागमा दरबन्दी रहेको कानून अधिकृत पदको काम कर्तव्य र भूमिका धेरैलाई थाहा नहुन सक्छ । तसर्थ, यस विषयमा हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट नापी विभागमा खटाइनुभएका कानून अधिकृत अनम सुवेदी ‘सुयाश’ सँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. खास कानून समूह कस्तो समूह हो ?

वर्तमान संविधानको धारा १५४ ले न्याय सेवा आयोगको व्यवस्था गरेको छ । संघीय न्याय सेवाको राजपत्राङ्कित पदको नियुक्ति, सरुवा, बढुवा गर्दा न्याय सेवा आयोगको परामर्श आवश्यक पर्ने संवैधानिक व्यवस्था नै हो । त्यही धारा बमोजिम न्याय सेवा आयोग अन्तर्गत रहेका राजपत्राङ्कित पदमा (कानून, न्याय, तथा सरकारी वकिल) नियुक्तिमा खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट लोक सेवा आयोगले लिइ आएको छ । निजामति सेवा ऐन, २०४९ को दफा ३ मा १० वटा सेवाहरुको गठन गरिएको छ । ती मध्ये नेपाल न्याय सेवा पनि एक रहेको छ ।

निजामति सेवा ऐन, २०४९ को दफा ७५ प्रयोग गरी बनेको नेपाल न्याय सेवा (गठन, समूह, तथा श्रेणी विभाजन, नियुक्ति सरुवा र बढुवा) नियमहरु, २०५१ को नियम ४ बमोजिम नेपाल न्याय सेवामा न्याय, कानून र सरकारी वकिललाई क्रमसँगै ३ समूहमा विभाजन गरिएको छ । जसमध्ये कानून समूह एउटा पर्दछ । कानून समूहमा कार्यरत कर्मचारी मूलतस् कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत विभिन्न मन्त्रालय, विभाग, आयोगमा बसी काम गर्दछन् ।

२. खास कानून अधिकृतको काम चाहिँ के के हो ?

कानून अधिकृतले हाल विभिन्न मन्त्रालय, विभाग, आयोगहरुमा बसी कानून निर्माण प्रकृयामा तर्जुमाकारको भूमिका निभाइरहेका छन् । नयाँ बन्ने कानूनको मस्यौदा तर्जुमा गर्नु एक प्राविधिक र चुनौतिपूर्ण कार्य मानिन्छ ।कानून विधिशास्त्रिय सिद्धान्तहरु, अदालती नजीरको ज्ञान तथा लामो अनुभव भएको कारण कानून अधिकृतहरुको कानून निर्माणमा राम्रो उपस्थिति हुने गरेको छ । त्यसैगरी दैनिक प्रशासनिक काम कारबाहीमा आइपरिरहने कानूनी द्वविधालाई निकास दिन, नेतृत्वलाई विकल्प सहितको सुझाव प्रदान गर्ने गर्दछन् ।

अर्को, कानून अधिकृतको प्रमूख कार्य मध्ये एक हो कार्यरत सरकारी अड्डाको कानूनी रुपमा प्रतिरक्षा गर्नु । आफू कार्यरत सरकारी अड्डालाई विषक्षी बनाइ दायर गरेको मुद्दामा कानून अधिकृतहरु सो को कानूनी रुपमा प्रतिरक्षा गर्ने गर्दछन् ।अर्को महत्वपूर्ण कार्यभित्र सरकारी कार्यालयमा खरीद प्रकृयामा मूल्याङ्कन समितिमा बसी त्यो खरीद प्रकृया सम्बद्ध कानूनको बराबर परिपालना गरी गरिएको छ छैन त्यस्को कानूनी ग्रह्यता हेर्ने कार्य पनि कानून अधिकृतको रहेको छ । यस्का अलावा समायुनुकुल कानून (ऐन, नियम, कार्यविधि, निर्देशिका आदि) मा संशोधनको विषय, राजपत्रमा प्रकाशित सूचना, परिपत्रहरुको राम्रोसँग अध्ययन गरी नेतृत्वलाई समयसापक्ष सल्लाह सुझाव दिनु कानून अधिकृतहरुको कार्यभित्र पर्दछन् ।

३. हिजो आज नयाँ युवा पिढीहरु जो सरकारी सेवामा आउन चाहन्छन् अरु सेवामा जस्तो न्याय सेवा प्रति खासै रुचि देखाउँदैनन् नि ? तपाईं के भन्नुहुन्छ ?

निजामति सेवा ऐन, २०४९ को दफा ३ मा १० वटा निजामति सेवाहरुको गठन गरिएको छ । सर्वप्रथम त के बुझ्न जरुरी छ भने १० वटा निजामति सेवाको प्रकृति उस्तै छैन केहि फरक छ । तसर्थ यो राम्रो त्यो नराम्रो भन्दा पनि सबै समूहहरु आवश्यकताले जन्माएको हुन्छ ।सबै सेवाको उद्देश्य फरक फरक छ ।आफ्नो सेवाको उद्देश्य प्रति सो सेवा अन्तर्गत कार्यरत कर्मचारी सचेत रहनु पर्दछ । जहाँ सम्म तपाइको प्रश्न छ हिजोको दिनसम्म हेर्दा माग गरिएको पद र नियुक्ति भएर आउने संख्या दाँज्दा केही अरुचि हो कि जस्तो देखिन्थ्यो । तर आज भोली न्याय सेवामा आउनेको रुचि ह्वात्तै बढेर आएको छ ।

यसमा दुइवटा कारण प्रमुख ठान्दछु । पहिलो कानून विद्यालाई मात्र प्राथमिकतामा राखी अध्ययन गर्ने विद्यार्थीको बढ्दो चाप र दोस्रो अन्य सेवामा समायोजनमा परिने डरले पनि यस न्याय सेवाको क्रेज बढेको देखिन्छ ।तलब स्केल सेवा सुविधाको दृष्टिकोणबाट हेर्दा पनि अन्य सेवा जस्तै न्याय सेवामा पनि समान धारणा निजामति सेवा ऐनले समाविष्ट गरेको हुँदा न्याय सेवा प्रति हाल ठूलो जमातको आकर्षण रहेको छ ।

४. कानून समूह न्याय सेवाको ३ समूह मध्ये १ समूह हो भन्नुहुन्छ । तर न्याय सेवा मुलतस् अदालत प्रति बढी केन्द्रित हुनु पर्ने होइन र ?

न्याय सेवा अन्तर्गत विभिन्न समूहका कर्मचारी कानूनमा स्नातक गरी सेवामा आएका हुन्छन् । त्यस हुनाले कानून अधिकृतहरुको प्रमूख कार्य नै कार्यपालिकाका विभिन्न संरचना जस्तै मन्त्रालय, आयोग वा विभाग आदि लाई अदालती प्रकृया र फैसला कार्यान्वयनमा सहजता प्रदान गर्नु हो । मुख्यतस् राज्यका ३ प्रमूख अंगहरु हुन्छन् । पहिलो व्यवस्थापिका जस्ले कानून निर्माण गर्दछ, दोस्रो कार्यपालिका जस्ले कानूनको कार्यान्वयन गर्दछ र तेस्रो रहेको छ न्यायपालिका जस्ले कानूनको अन्तिम व्याख्या गर्दछ । यस्का अलावा प्रत्यायोजित विधायनको सिद्धान्त अवलम्वन गरी कार्यपालिकाले कतिपय कानून आफै निर्माण गर्दछ । त्यसैगरी कतिपय प्रशासनिक निकाय जस्तै सिडिओ(मालपोत कार्यालय कार्यकारी निकाय अन्तर्गत भएता पनि केहि मात्रामा न्यायिक अधिकार प्रयोग गर्ने गर्दछन् ।

यसरी हेर्दा कार्यकारी अंग कानून कार्यान्वयनको सँगसँगै कानून निर्माण गर्ने र अदालतले जसरी प्रमाण बुझी निर्णय गर्ने पनि गर्दछन् । प्रशासनिक निकायबाट हुने आदेश र शुरु फैसला अथवा टिप्पणी वा आदेश भनौ कानूनको परिधिभित्र रही गर्नुपर्ने हुन्छ । कानून भन्नाले केवल संविधान र ऐनलाई मात्र नजनाएर त्यस मातहत बनेको नियम, कार्यविधि, निर्देशिका, विनियम, परिपत्र, प्रशासकिय आदेश लाई पनि बुझाउँदछ ।त्यसो भएको हुनाले कानूनी प्रश्नमा हुने दुविधालाई मध्यनजर गरी सो को निराकरणार्थ विभिन्न मन्त्रालय, आयोग, विभाग, आदि निकायमा कानून अधिकृतहरुको दरबन्दी रहेको हुन्छ ।

५. भन्दा खेरी कानून, न्याय र सरकारी वकिल भनिन्छ । सबैभन्दा राम्रो कानून त्यसपछि न्याय त्यसपछि सरकारी वकिल यसरी अर्थ्याउँदा फरक पर्दैन नी र ?

मैले अघि भनेकै कुरा दोहोर्याउन चाहन्छु । सबै सेवा समूह आवश्यकताले जन्मेका हुन्छन् ।तसर्थ यो राम्रो त्यो नराम्रो भन्नु युक्तिसँगत नहोला । सबै सेवा समूहको उद्देश्य आफ्नो आफ्नो रहेको हुन्छ । सरकारी वकिलको काम सरकारी वकिलले जति जानेको हुन्छ अरुले जानेको हुँदैन ।त्यसैगरी अदालती प्रकृया न्याय समूहले जति जानेको हुन्छ अरुले त्यति जानेको हुँदैन र कानूनको मस्यौदाको निर्माण जति कानून समूहले जानेको हुन्छ त्यति अरुले नजानेको हुनसक्छ ।तसर्थ सबै सेवा समूहहरु उत्तिकै विशिष्ट छन् ।न्याय सेवाको जुन उद्देश्य छ त्यो पुरा हुन तीनै समूहहरुको भूमिका उल्लेखनिय हुन्छ ।

आगामी दिनहरुमा तीनै सेवा समूहहरु बीच अझ बढी नियमित छलफल र सहकार्य हुने खालको स्थायी संरचना नै बनाउनु उत्तम हुने देखिन्छ ।अझ अदालती नजीर पनि कानूनको बलियो श्रोत भएको हुनाले कानून तर्जुमामा अदालतका सरकारका नामका निर्देश्नात्मक आदेश र नजीरलाई समावेश गर्नु पर्ने हुँदा त्यस्तो खालको स्थायी संरचना बनाउन सम्वन्धित सबैको ध्यान जान आवश्यक छ ।

६. काम कारवाहीको सिलसिलामा कानून अधिकृतले के के कुरामा ध्यान दिन जरुरी छ ?

न्याय सेवाको कर्मचारीको कार्यकारिणी अंग सम्मको पहुँचबाट के देखिन्छ भन्दा विधिको पालना हुनुपर्दछ र न्याय मर्न दिनु हुँदैन भन्ने नै हो ।त्यसकारण कानूनको पद एक संवेदनशिल पद मानिन्छ । कानूनको पदमा नियुक्ति एक पाटो हो भने त्यस पदमा रहेर आफूलाई स्थापित गर्नु अर्को पाटो हो ।त्यस हुनाले सर्वप्रथम न्याय सेवा अन्तर्गत रहेको कानून समूहको उद्देश्य प्रति सजग रहनु पर्दछ । कानून अधिकृतहरुले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले अवलम्वन गरेका सर्वमान्य सिद्धान्त, विधि प्रकृया पनि जानी राख्नु पर्दछ । कानूनमा हुने समयानुकुल परिमार्जन सूचना पनि समयमै ग्रहण गरेको हुनुपर्दछ ।

सर्वप्रथम कानून अधिकृतसँग नयाँ बनेका कानूनहरु आफ्नो शाखामा मौजुदा रहनुपर्दछ ।त्यसैगरी सम्बन्धित निकाय सँग सम्वन्धित ऐतिहासिक दस्तावेज, ऐन, नियम, कानून के के छन् त्यस्को फेहरिस्त निकाल्नु पर्दछ ।यति हुँदा हुँदै चाहिने कानून नभेटिए कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल कानून आयोगको वेब पेजमा गई प्राप्त गर्न सकिन्छ ।साथै सम्वन्धित वेब पेज हरु सर्फिङ गर्ने बानी बसाल्नु राम्रो हुन्छ ।

त्यसैगरी धैर्यता, अनुशासन र लगनशिलता कानून अधिकृतहरुमा हुनुपर्ने गुणहरु हो ।फगत गफमा आफूलाई समावेश गर्नुको साटो पत्रपत्रिका पढ्दा त्यस्ले सूचना र ज्ञानको दायरा बढाउँछ ।कानून समाजको दर्पण भएकोले समाजप्रतिको चिन्तन पनि कानून अधिकृतका लागि उत्तिकै महत्वपूर्ण हुन्छ ।कानून महाशाखा तथा शाखा सँग सम्वन्धित अभिलेख सुरक्षित राख्नु वास्तवमा निकै आवश्यक छ । कानूनी समस्याहरु र तिनका सामाधानार्थ अवलम्वन गरिएका उपाएहरु अद्यावधिक गरी राख्नु पनि कानून अधिकृतको विशेष दायित्व हुन आउँछ ।

७. त्यसो भए नयाँ भर्ती भई आउने कानून अधिकृतका लागि के सल्लाह सुझाव दिन चाहनुहुन्छ  र?

कानून अधिकृतको पद वास्तवमै जनतासँगै प्रत्यक्ष सरोकार राख्ने खालको हुँदैन । बरु यस्ले सँगठनको सहयोगी भूमिका निर्वाह गर्दछ । सर्वप्रथम कानून अधिकृतहरु निकै अध्ययनशिल हुनुपर्ने हुन्छ । तसर्थ, मन्त्रालय विभागमा कानून महाशाखा तथा शाखाको परिचय एक अनुसन्धान शाखाको रुपमा रहेको हुन्छ । त्यस्तो ठाउँ जहाँ समस्या क्षतिग्रस्त रुपमा आउँदछन् र तीनको सामाधानको लागि निकै समय खर्चनु पर्ने हुन्छ । त्यसैले अध्ययन अनुसन्धान तर्फ रुचि भएका साथीहरुलाई यस समूहमा आउन सुझाव सहितको आग्रह गर्न चाहन्छु ।

कमेन्ट गर्नुहोस्