इयुहोफा सम्मेलनः विश्वभरिका ७० पर्यटन शिक्षासम्बद्ध विज्ञ नेपालमा

काठमाडौंः होटल स्कुल एसोसिएसन (इयुहोफा) को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले गर्न लागेको यस आतिथ्यता एसियामै पहिलोपटक हुन लागेको हो ।

डिसेम्बर १ सम्म संचालन हुने यस विशेष भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्नेछन् । काठमाडौंमा हुने ५८औं कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित बरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन् ।

सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको यस कार्यक्रम अर्को वर्ष डेनमार्कमा आयोजना हुँदैछ

नेपालको आयोजना किन महत्वपूर्ण ?
अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका यो भेला बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो ।

युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन् । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा हुन गइरहेको यो विशेष भेला महत्वपूर्ण हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्