सागः भारतीय भलिबल टोली आइपुग्यो, आज नेपालसँग भिड्ने

काठमाडौंः १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।

भलिबलतर्फ आज ३ खेल हुँदैछन् । जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ । बंगलादेशलाई हराउँदै बुधबार विजयी सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारत खेल्ने तय भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।

नेपालले उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो ।

तीन टोली सहभागी समूह ‘ए’बाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । अर्को समूहमा पाकिस्तान नआएपछि माल्दिभ्स र श्रीलंका मात्र छ र दुवै टोली सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । यी दुई टोलीबीच आजै बेलुका ७ बजे खेल हुनेछ ।

 

कमेन्ट गर्नुहोस्