यूएई-कतारमा नेपाली तरकारी

काठमाडौंः संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ/सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए । झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको छ तर यहाँ नै तरकारीको अभाव रहेका कारण मागअनुसार पठाउन नसकेको उनले बताए ।

भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उनले बताए ।
उनले भने, नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन ।

यदि सरकारले सहयोग गर्यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उनले दाबी गरे । त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उनले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताए । नेपाल आफै तरकारीमा आत्मनिर्भर छैन । भारत लगायतबाट आयात भएपछि मात्र छाक टार्छ । यस अवस्थामा नेपालमा मात्र उत्पादन हुने तरकारी अरब, कतारसम्म पुर्याउनु कम चुनौती नरहेको उनले बताए ।

भारतलगायत अरू देश तथा तराई मधेसमा उत्पादन हुने तरकारीसमेत लिएको छैन, काठमाडौं उपत्यका वरपर उत्पादन हुने मात्र कतारसम्म पुर्याएको उनले दाबी गरे । उनले भने, नेपालबाट यहाँ तरकारी ल्याएर बेच्ने कुरा गर्दा कतारीले तिमीहरू भारतबाट तरकारी ल्याएर खान्छौँ, हामीलाई कसरी दिन सक्छौँ भनी प्रश्न गरेका थिए अनि मैले नेपालकै खेतबारीमा उत्पादन हुने तरकारी तपाईंहरूलाई खुवाउँछु, त्यसमा ढुक्क हुनुस् भनेर आएको र त्यहीअनुसार हालसम्म पुर्याइरहेका छौँ ।

सुरुमा कालीमाटीबाट तरकारी किन्न खोजे तर त्यहाँ महँगो हुनुका साथै नेपालको खेतबारीमा पाउने तरकारी पाउन गाह्रो भयो, त्यसपछि आफ्नो कम्पनीले काठमाडौं वरपरका किसानको खेतमै गएर किनेर पठाउन थालेको उनले बताए । अहिले कम्पनीका आफ्नै तरकारी फार्म छन् । काठमाडौंको रामकोट, दहचोक, ललितपुरको लामाटोलमा आफ्नै कृषि फार्म छन्, त्यसबाट उत्पादन भएको तरकारीले पनि नपुगेको बताउँदै उनले एउटा ठूलै लगानीको फार्म खोल्न तयारी भइरहेको बताए ।

किसानसँग तरकारी किन्दा उनीहरूलाई पनि फाइदा हुन्छ र त्यसमा हामीलाई पनि फाइदा हुन्छ, उनले भने, यहाँ ५०–६० रुपियाँमा किनेको तरकारी कतारमा पाँच÷छ रियाल (१५० नेपाली)मा बेच्ने गरेको छु, खासै फाइदा त छैन तर घाटा पनि छैन । उनले कतारमा पनि ‘अलसमन ग्लोबल नेपाल’ भन्ने कम्पनी खोलेका छन् । त्यसका लागि त्यहाँ छ जनाले काम गरिरहेका छन् । अरब र कतारमा हालसम्म नेपाली तरकारी पुर्याउने आफ्नो पहिलो कम्पनी रहेको पनि उनले दाबी गरे । यो समाचार गोरखापत्र दैनिकबाट लिइएके हो ।

कमेन्ट गर्नुहोस्