१३औं सागः कराँतेमा अनुले जितिन् स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराँतेको कुमुते अन्तर्गत अनु अधिकारीले महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् ।

११औं सागकी रजत पदकधारी अनुले कराँतेमा स्वर्ण थपेकी हुन् । फाइनलमा उनले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण जित्न सफल भइन् । फाइनलमा विपक्षी खेलाडीलाई टेक्निकल नकआउट गरेकी उनले त्यसअघि पनि सोहि अनुसार जित हासिल गरेकी थिइन् ।

त्यसअघि सेमिफाइनलमा शुरुबाट नै आक्रामक रुपमा प्रस्तुत भएकी अनुले विपक्षी खेलाडीलाई एक अंक पनि दिएकी थिइनन् ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १३ औं स्वर्ण पदक हो । हालसम्म नेपालले कराँतेबाट ७, तेक्वान्दोबाट ५ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्