कतार टी–१० लिगमा सोमपाल र रोहित खेल्ने पक्का

काठमाडौंः यही ७ डिसेम्बरदेखि कतारमा हुने टी–१० क्रिकेट लिगमा नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सोमपाल कामी र रोहित पौडेलले खेल्ने पक्का भएको छ ।

टी–१० लिग कतार आयोजकले आज आधिकारिकरुपमा सार्वजनिक गरे अनुसार हालसम्म नेपालबाट रोहित र सोमपाल खेल्ने पक्का भएको हो ।

सोमपाल फ्लाइङ ओरिक्स र रोहित हिट स्टोर्मर्सबाट खेल्ने भएका हुन् ।

घोषित टिममा कतिपय खेलाडी अझै घोषणा नभएकोले नेपालका अन्य खेलाडि पर्न सक्ने सम्भावना बाँकि छ ।  
हालैमात्र यूएईमा सम्पन्न भएको टी–१० लिग फर्मेटको खेल पुनः कतारमा हुन लागेको हो ।

क्रिकेटको इतिहासमा पछिल्लो चरणमा विकास भएको टी १० फर्मेटको लिग खेल यसै ७ डिसेम्बरबाट कतारमा हुने भएको हो ।

क्यू टी–१० लिगमा खेल्ने टीमहरु

फाल्कन हन्टर्स

फ्लाइङ ओरिक्स

डिजर्ट राइडर्स

पर्ल ग्लेडिटर्स

हिट स्टोर्मर्स

स्विफ्ट ग्यालोपर्स

जम्मा १५ खेल हुने यो लिग राउण्ड रबिन लिग सिष्टमका आधारमा खेलिनेछ । एशियन टाउन स्टेडियम दोहामा खेलिने खेलमा ६ जना आइकन प्लेयर र १८ अन्तर्राष्ट्रिय खेलाडीका साथै घरेलु खेलाडी पनि हुने छन् ।

आइसीसीको एशोसिएट सदस्यबाट १८ खेलाडी रहने आयोजकले जनाएको छ । यसरी स्थानीय ४८ जनासहित जम्मा ९० जनाले यो लिगमा खेल्ने भएका छन् ।

हरेक खेलाडीले उनीहरुको स्तर अनुसार पैसा पाउने बताइएको छ । आइकन प्लेयरले २० हजार डलर, अन्तर्राष्ट्रिय खेलाडीले ५ हजारदेखि १५ हजारसम्म, एशोसिएट खेलाडीले ३ हजार डलर र कतारका स्थानीयले १५ सय देखि ५ हजार डलरसम्म पारिश्रमिक पाउने छन् ।

 

कमेन्ट गर्नुहोस्