गढीमाई मेलाः आजदेखि पशुबली दिन थालियो

काठमाडौंः बाराको प्रसिद्ध गढीमाई मेलामा आजदेखि बली दिन थालिएको छ। महागढीमाई १ बरियारपुरमा गत मंसिर १ गते सुरु भएको मेलामा आज बिहानदेखि बली दिन शुरू गरिएको हो। पशु अधिकारकर्मीको विरोधका बाबजुद सुरु भएको बली दिने काम भोलि साँझसम्म चल्नेछ। दुई दिनसम्म चल्ने बलीका लागि ठूलो संख्यामा राँगा, बोका तथा परेवा ल्याइएको छ।

बली दिन भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आएको मेला व्यवस्थापन समितिले जनाएको छ। हरेक पाँचपाँच वर्षमा लाग्ने गढीमाई मेलामा ठूलो संख्यामा पशुबली दिइन्छ। सर्वोच्च अदालतले परमादेशमार्फत् पशुबली व्यवस्थापन गर्न भने पनि सरकारले कुनै पहल गर्न सकेको छैन्।

भारतको सर्वोच्च अदालतले पनि त्यहाँका नागरिकलाई गढीमाई मन्दिरमा पशुबली नदिन आदेश दिएको छ। आदेशअनुसार उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका प्रदेश सरकारले पशुबली नदिन आफ्ना नगारिकलाई सूचित गर्दै आए पनि नागरिकहरु रोकिएका छैनन्। गढीमाई मेला यो महिनाभर चल्नेछ।

कमेन्ट गर्नुहोस्