साग महिला क्रिकेटः श्रीलंकाविरुद्ध बंगलादेशको शानदार जित

कास्कीः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन् । ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन् ।

क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् । त्यस्तै एस संदिपनीले १२ रन जोडेका थिए । बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।

१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाट संजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिइन् ।

संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन् भने आयसाले २ चौका प्रहार गरेकी थिइन् । खेलको अन्तिम तिर ब्याटिङमा आएकी फरगंगा हकले अविजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकी उनले १ छक्का १ चौका प्रहार गरिन् ।

श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए । खेलमा बंगलादेशकी संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार बिहान ९ बजे नेपाल र बंगलादेशबीच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्