भारोत्तोलनमा सञ्जुले जितिन् स्वर्ण, रचिन् इतिहास

पोखराः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जितेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) पनि बनाइन् ।

स्वर्ण जित्दै उनी इतिहास रच्न सफल भएकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो ।

योसँगै नेपाल जारी सागमा ३६ स्वर्ण जित्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्