सुदूरपश्चिमका गौरवका आयोजनाहरू रोकिनु हुँदैन, रोकिँदैनन् र रोक्न पनि दिँदैनौः प्रचण्ड

धनगढीः नेकपा अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका गौरवका आयोजनाहरूलाई गति दिइने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको वित्तीय सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले यहाँको विकाशका लागि सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘सुदूरपश्चिमका गौरवका आयोजनाहरू रोकिनु हुँदैन, रोकिँदैनन् र रोक्न पनि दिँदैनौ ।’ उनले सुदूरपश्चिमका निर्माणको क्रममा रहेका आयोजनाहरूले गति लिने र सुरु हुन नसकेका आयोजानको चाँडै निर्माणको कार्य सुरु गरिने प्रतिवद्धता जनाए ।

प्रचण्डले गौरीफन्टा–बझाङ–ताक्लाकोट राजमार्गलाई गम्भीर रुपमा लिएको र त्यसको काम अगाडि बढाउनका लागि पहल गर्ने आश्वासन दिए । उनले राज्यबाट पछि परेको वा पारिएको क्षेत्र वा समुदायमा सरकारले ध्यान अलि बढी नै दिनुपर्नेमा जोड दिए ।

संयौं वर्षदेखि पछाडि पारिएको सुदूरपश्चिम क्षेत्रलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने उनले बताए । ‘पछाडि पारिएको सुदूरपश्चिमलाई नयाँ परियोजना, थप बजेट, विशेष कार्यक्रम दिनुपर्छ । यसमा ध्यान पुगेको छैन । आवाज उठाइराख्न आग्रह सुदूरपश्चिमवासीलाई आग्रह गर्दछु,’ उनले भने ।

कमेन्ट गर्नुहोस्