१३ औँ सागः नेपालद्वारा माल्दिभ्सलाई १६४ रनको लक्ष्य

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

नेपालका लागि करन केसीले बिस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाए ।

यस्तै दिपेन्द्रसिंह ऐरीले ३९, विनोद भण्डारी, कप्तान ज्ञानेन्द्र मल्लले १९–१९, रोहित पौडेलले १०, आरिफ शेखले १७, पारस खड्काले ११ रनको योगदान दिए । बलिङमा माल्दिभ्सका लीम शफीगले सर्बाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्