विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचना पेलेरै गर्ने देउवाको तयारी

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्। कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्। ‘चाँडै पार्टीको सबै सांगठनिक संरचनाले पूर्णता पाउँछन्’, कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ, अब चाँडै गठन हुन्छन्।’

नेताहरूबीच पटक–पटक छलफल भए पनि भागवण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामो समयदेखि सहमतिको प्रयास गरे पनि कुरा मिलेको छैन।

देउवा निकट एक नेताले भने, ‘जति छलफल गरे पनि सहमति नहुने देखिएपछि सभापति देउवा पार्टीको सबै सांगठनिक संरचनालाई पूर्णता दिने निष्कर्षमा पुग्नुभएको हो।’ ति नेताका अनुसार देउवाले एक साताभित्रै केही महत्त्वपूर्ण विभाग गठनको तयारी गरेका छन्। सभापति देउवाले विभाग गठन गर्नेबारे आफूनिकट नेतासँग परामर्शमा छन्।

२६ मंसिरमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन्। पदाधिकारी बैठकमा विभाग गठनदेखि भ्रातृसंस्थाका बारेमा सहमतिको प्रयास गर्ने देउवाको योजना छ। नौ महिनादेखि नेविसंघ विघटित अवस्थामा छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्