सागः महिला क्रिकेटमा नेपाललाई कास्य

पोखराः १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाललाई कास्य पदक प्राप्त भएको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो।

पोखरा रंगशाला भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमायो । ९ रनको लक्ष्य नेपालले जम्मा ५ बलमा कुनै विकेट नगुमाई ९ रन बनाई पूरा गर्यो ।

यसअघि पनि माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अञ्जली चन्दले हाज पनि ४ विकेट लिइन । ४ ओभर बलिङ गर्दा उनले १ रन मात्रै दिएकी अञ्जली प्लेअर अफ दी म्याच बनिन । मालदिभ्सका लागि ओपनर अइमा अइसादले १ रन बनाउनुबाहेक अन्यले रन जोड्न सकेनन् । ७ रन नेपालका बलरले वाइडकारुपमा अतिरिक्त दिएका थिए।

सीता राना मगर र रुविना क्षेत्रीले २–२ विकेट लिए ।

बंगलादेश र श्रीलंकाको महिला टोलीले फाइनलमा स्थान बनाएको छन् । स्वर्ण पदकका लागि पोखरा रंगशालामै आइतबार खेल हुँदैछ।

समूह चरणको पहिलो खेलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकासँग ४१ रनले पराजित हुँदा फाइनलको यात्राबाट वञ्चित भएको हो। महिला क्रिकेटमा बंगलादेश, श्रीलंका, नेपाल र माल्दिभ्स सहभागी थिए।

कमेन्ट गर्नुहोस्