भुटानले श्रीलंकालाई ३–० ले हरायो, पहिलोपटक सागको फाइनलमा

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद  (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै भुटान फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै पहिलोपटक भुटान साग फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

भुटानको जितमा खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

जितसँगै ४ खेलमा ९ अंक जोड्दै भुटान शीर्ष स्थानमा उक्लिएको छ । भुटानले अब स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ ।

आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्