सेनामा किन बढ्दै छ शक्तिराष्ट्रको चासो?

काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिम साता नेपाल भ्रमणका बेला नेपालमा अमेरिका र पश्चिमा मुलुकहरूले चीनविरोधी गतिविधि गरिरहेको संकेत गर्दै त्यस्ताको हड्डी नै धुलोपीठो पारिदिने चेतावनी दिएका थिए । उनी बेइजिङ फर्केको दुई साताभित्र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा चीनले नेपाली सेनालाई साढे दुई अर्ब रुपियाँबराबरको सैन्य सामग्री हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर भयो ।

पोखरेलको भ्रमणका बेला मानवीय सहायता तथा प्रकोप व्यवस्थापन, सेनाको पहलमा स्थापना हुन लागेको प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भयो । राष्ट्रपति सीको भ्रमणकै वेला प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माणसम्बन्धी सम्झौता गर्ने तयारी भए पनि अन्तिममा नेपाल एजेन्डाबाट हटाएको थियो ।

अमेरिकी रक्षा सहकायमन्त्री रेन्डल जी स्क्राइभरसँग रक्षामन्त्री पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रतिरक्षा विश्वविद्यालय, मानवीय तथा प्रकोप व्यवस्थापन, द्विपक्षीय सैन्य अभ्यास र तालिमलगायत विषयमा छलफल गरे । सहायकमन्त्री स्क्राइभरले २० मंसिरमा कूटनीतिक संवाददाताहरूसँग भनेका छन्, ‘इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले २० मंसिर बिहान कमलादीस्थित अमेरिकी राजदूत निवास कमलकुञ्जमा भने, ‘हामी नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन चाहन्छौँ । सेनाको आधुनिकीकरणमा सघाउँछौँ । विश्वविद्यालयको भौतिक पूर्वाधार र कोर्स छनोट, पाठ्यक्रम निर्माणमा सघाउँछौँ । नेपाली सेनालाई चाहिएको सहयोग गर्छौँ ।’

नेपालमा अमेरिका र चीनको चासो पछिल्लोपटक सुरक्षा क्षेत्रमा बढिरहेको छ । उनीहरूको प्राथमिकतामा नेपाली सेना स्पष्ट देखिएको छ । सेनालाई अमेरिकाको दुईवटा स्काइ ट्रक २९ मंसिरमा प्राप्त हुँदै छ । शान्ति स्थापक सेनाले प्रयोग गर्ने गरी अमेरिकाबाट करिब १० हजार थान एम १६ हतियार किन्ने प्रक्रिया अघि बढेको छ । सैनिक स्रोतका अनुसार अहिले एलसी खोल्ने प्रक्रियामा छ ।

सेनामा किन बढ्दै छ चासो ?
नेपालमा बलियो सरकार रहे पनि सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलन, प्रतिपक्षी कांग्रेसको भूमिका आदिका आधारमा छिमेकी र शक्ति राष्ट्र नेपालको राजनीतिक स्थिरताप्रति अझै विश्वस्त भइनसकेको देखिन्छ । दलहरूको अस्थिर भूमिकाका कारण पनि बाह्य शक्तिले सेनासँग हिमचिम बढाएको हुन सक्ने जानकार बताउँछन् । ‘यही कारण नेपालमा भारत, अमेरिका र चीनको प्रत्यक्ष सुरक्षा चासो प्रकट भएको हो,’ नेपाली सेनाका उच्च अधिकारीले भने, ‘नेपालसँग १९५० को सन्धि चीनको बढ्दो प्रभाव विस्तारका कारण भारतको प्रयास र हतारोमा भएको हामीले बिर्सनुहुँदैन । अहिले त्यही रफ्तारमा नेपालमा चीनको प्रभाव बढेकाले भारत र अमेरिकाको चासो थपिएको छ, र अमेरिका बढी सक्रिय छ ।’

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धले दुई देशको कूटनीति सञ्चालनमा प्रभाव पारेकाले पनि भारत र अमेरिकाको चासो बढेको ती जानकारको भनाइ छ । नेपाल–भारत सम्बन्धबारे जानकार एक सैनिक अधिकारीको विश्लेषण छ, अहिले चीनसँग रणनीतिक सम्वाद बढेको छ । भुटानको डोक्लाममा आएजस्तै अवस्था नेपालमा आउने सम्भावना छ र त्यो अवस्था नेपालले सामना गर्न सक्दैन भन्ने बुझाइ भारतको रणनीतिक मामिला सञ्चालकमा छ ।’ जानकारहरूको भनाइमा नेपालमा चीन र अमेरिकाको परस्परविरोधी रुचि (कन्फिल्क्टिङ इन्ट्रेस्ट) छ भने भारत र चीनको प्रतिस्पर्धी रुचि (कम्पिटिङ इन्ट्रेस्ट) छ । सेनालाई भारत, चीन र अमेरिका तीनै शक्तिले बढी विश्वास गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्