जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार हुने

काठमाडौंः प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ । लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष चासो लिएपछि सडक बन्न लागेको हो ।

त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले स्थानीयवासी सहभागी गराई विशेष पहल गरेका छन् ।

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तारका लागि बिहीबार सरोकारसँग भएको बैठकले नयाँ स्वरूप दियो । स्थानीयवासीसँग संयुक्त बैठक बसेर पाँच निर्णय गरिऐको छ । निर्णयलाई कार्यान्वयन गर्ने गरी शुक्रबार केही काम पनि भएको छ ।

बैठकमा सहभागी सो क्षेत्रका सङ्घीय सांसद कृष्ण राईका अनुसार जहाँ जस्तो सम्भव हुन्छ सडक बनाई छाड्ने प्रतिबद्धता गरी त्यसैअनुसार काम थालिएको छ । “स्थानीय सरकारलगायत सबै सरोकारवालाले प्रतिबद्धता जनाएर सोअनुसार काम पनि सुरु गरिएको हो,” उनले थपे लामो समयदेखि अन्योलमा रहेको यो सडक बनाउन सर्वपक्षीय सहमति भएपछि निर्माण कार्य अगाडि बढ्नेमा आशावादी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले बताए ।

उनका अनुसार सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ ।

अब सार्वजनिक स्थलक्षेत्रमा २२ मिटर सडक चौडा भए पनि विवाद भएका समस्या ग्रस्त क्षेत्रमा न्यूनतम १४ मिटर सडक क्षेत्र रेखाङ्कन गर्ने र बाटो बनाउनेमा गोकर्णेश्वर नगरपालिका, स्थानीय सरोकारवाला र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय संसद् सहमत भएका छन् ।

मन्त्रालयले त्यस क्षेत्रका संसद् राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, नेपाल टेलिकमका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त निर्णय गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्