विप्लव नेतृत्वको सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश, उद्योगमन्त्री भट्टले गरे स्वागत

कैलालीः प्रतिबन्धित नेकपा विप्लवको सिंगो कैलाली विद्यार्थी जिल्ला कमिटी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।

शनिवार घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजित एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको विद्यार्थी संगठनको कैलाली जिल्ला अध्यक्ष पद्म काफ्ले, जिल्ला सहसचिव नविन कार्कीलगायत सिंगो कमिटी नेकपामा प्रवेश गरेको हो । उनीहरूलाई नेकपा स्थायी समिति सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी प्रवेश गराए ।

नव प्रवेशीहरुलाई आफ्नो पार्टी प्रवेश गराउँदै भट्टले शान्ति, स्थायित्व र विकासका लागि मूलधारको राजनीतिमा आउनु विवेकसंगत निर्णय भएको बताए ।

पार्टी प्रवेश गर्ने विद्यार्थी नेताहरूले पार्टीले राजनीतिक दिशा स्पष्ट नगरेपछि निराश भएर पुरानै घर फर्कनु परेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्