काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको समूह चरण्को अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो ।
उसका लागि यासिर अलिले ५१, महिदुल इस्लाम अंकनले ४४, जाकिर हसनले नटआउट २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।
बलिङमा श्रीलंकाका असिता फर्नान्डोले २, कविष्का अन्जुला, जहान डानियल र शम्मु आशानले एक–एक विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा सौम्य सरकार र बंगलादेश–२३ का नियमित कप्तान नजिमुल हुसैनले खेलेका छैनन् ।
पुरुष क्रिकेटको स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंका नै भिड्ने छन् । बंगलादेशले शनिबार नेपाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।