अनाज मण्डी आगलागी: मृत्यु हुनेको संख्या ४५ पुग्यो, दर्जनौं घाइते

काठमाडौंः भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । भारतीय समाचार संस्था दैनिक जागरणका अनुसार आइतबार बिहानै भएको आगलागीमा मृत्यु हुनेको संख्या ४५ पुगेको हो ।

दर्जनौं मानिसहरु घाइते भएकोले मृतकको संख्या अझैं बढ्न सक्ने समाचारमा जनाइएको छ। घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०–१० लाख भारु दिने घोषणा गरेका छन्। घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक–एक लाख राहत रकम दिने उनको भनाइ छ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन् । घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । आगलागीको कारण अझै खुलेको छैन । कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

घाइतेको उद्दार कार्य भैरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागी भएको घरमा विभिन्न कारखानामा काम गर्ने मजदुरहरु बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्