१३ औँ सागः बंगलादेशविरुद्ध श्रीलंका ९ विकेटले विजयी

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको समूह चरण्को अन्तिम खेलमा बंगलादेशमाथि श्रीलंका ९ विकेटले विजयी भएको छ ।

बंगलादेशले दिएको १ सय ५१ रनको लक्ष्य श्रीलंकाले १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लसिथ क्रोसपुल्लीले ४१ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै नटआउट ७३ रन बनाए ।

यस्तै पथम निसान्काले अविजित ६७ रन बनाए । बलिङमा बंगलादेशका मेहदी हसन रानाले एक विकेट लिए ।

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो ।

उसका लागि यासिर अलिले ५१, महिदुल इस्लाम अंकनले ४४, जाकिर हसनले नटआउट २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा श्रीलंकाका असिता फर्नान्डोले २, कविष्का अन्जुला, जहान डानियल र शम्मु आशानले एक–एक विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा सौम्य सरकार र बंगलादेश–२३ का नियमित कप्तान नजिमुल हुसैनले खेलेका छैनन् ।

पुरुष क्रिकेटको स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंका नै भिड्ने छन् । बंगलादेशले शनिबार नेपाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

कमेन्ट गर्नुहोस्