भारतमा बुद्धबारे प्रवचन

भारतः वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी बुद्ध दर्शनबारे चासो राख्नेका लागि नयाँ नाम होइन । गत साता उनले भारतका दुई सहरमा यहाँका बुद्ध सम्पदाबारे प्रवचन दिए । सुरुमा भारतको कान्छो राज्य तेलङ्गना पुगे । त्यहाँको राज्य सरकारको ‘डिपार्टमेन्ट अफ हेरिटेज’ द्वारा मंसिर १ देखि ४ गतेसम्म आयोजित अन्तर्राष्ट्रिय तेलाङ्गना बौद्ध संगीतका प्रमुख वक्ता उनै थिए ।

विभिन्न १२ मुलुकका बौद्धस्थल, साहित्य र सभ्यताका जानकार पुरातत्त्वविद् सहभागी कार्यक्रममा उनले ‘बुद्धिष्ट हेरिटेज अफ नेपाल–तराई’ विषयमा कार्यपत्र प्रस्तुत गरे । ‘बुद्धलाई शान्तिका लागि उत्प्रेरित गर्ने भूमि नेपाल हो,’ उनले भने, ‘त्यहीँ पाएको ध्यानलाभले भारतमा ज्ञान प्राप्त गरे ।’

याे पनि पढ्नुस  कस्तो छ भारत र पाकिस्तानमा कोरोना संक्रमणको अवस्था?

बुद्ध जन्मस्थल लुम्बिनी हो र यो सगरमाथाको मुलुकमा रहेको छ भन्ने सन्देश पनि उनले प्रस्ट शब्दमा राखे । संसारभर अशान्ति र द्वन्द्व बढ्दै गएका बेला बुद्धको शान्ति शिक्षाबाट सबैले प्रेरणा लिन सकेमा जीवन र जगत् सार्थक हुने उनले सुनाए । कार्यक्रममा उनले शान्तिमा जोड दिएपछि अफगानिस्तानको ‘इन्स्टिच्युट अफ आर्कजोजी’ का निर्देशक नूर अगहा नुरीले मञ्चमै पुगेर उनीसँग अंकमाल गरे । उत्कृष्ट प्रस्तुतिका लागि धन्यवाद दिए ।

गौतम बुद्धभन्दा अघिका कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल कपिलवस्तुको निग्लिहवा र गोटिहवा पनि नेपालकै रहेको उनले बताए । शाक्यवंशीय राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतमले २९ वर्षको युवावस्था बिताएको प्राचीन कपिलवस्तु (तिलौराकोट) बारे जानकारी गराए । ‘त्यहाँ भएका अध्ययन–अनुसन्धानले पुष्टि भइसकेको कुरा हो,’ उनले भने, ‘समग्रमा नेपाललाई बुद्ध संग्रहालय भन्न सकिन्छ ।’

याे पनि पढ्नुस  भारतले दियो नेपाललाई २३ टन औषधि सहयोग

लुम्बिनी र आसपास २ सय ४० भन्दा बढी बुद्धस्थल छन् । तेलङ्गनामा पनि बुद्धसँग सम्बन्धित धेरै ठाउँ छन् । त्यसैले पर्यटन प्रवर्द्धनदेखि शान्तिका लागि सहकार्य गर्न सक्यौं भने दुवै मुलुकलाई उत्तिकै फाइदा पुग्ने बिडारीले बताए । चारदिने कार्यक्रममा १२ मुलुकका पुरातत्त्वविद्ले कार्यपत्र प्रस्तुत गरेका थिए ।

याे पनि पढ्नुस  भारतमा फेरि लकडाउन लम्बिने

कार्यक्रममा नेपाल, भारत, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, पाकिस्तान, भुटान, अस्ट्रेलिया र अफगानिस्तानलगायत मुलुकका ३० भन्दा बढी बौद्ध सम्पदाका पुरातत्त्वविद् र अन्वेषक सहभागी थिए । त्यस्तै तेलङ्गना सरकारका मन्त्री, सांसद, उच्च अधिकारी, पुरातत्त्वविद्, पर्यटन उद्यमी र बौद्ध अनुयायी सहभागी थिए ।

बिडारीको विद्वत्ता, तर्कसंगत तथ्य र प्रमाण प्रस्तुतीकरणका कारण उनलाई तेलङ्गना सरकारले पुरातात्त्विक परामर्शदाता बन्न आग्रह गरेको छ । त्यस्तै उनीसँग तस्बिर खिचाउनेको उत्तिकै भीड थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्