साग पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली क्रिकेट टिमले कांस्य पदक प्राप्त गरेको छ ।

आज माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्य पदक प्राप्त गरेको हो । आज माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आरिफ शेखले ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, विनोद भण्डारीले १२, पारस खड्काले ३, दिपेन्द्रसिंह ऐरीले २ रन बनाए । यस्तै रोहितकुमार पौडेल १५ र पवन सराफ १० रनमा अविजित रहे ।

बलिङमा माल्दिभ्सका उमर आदमले ३ र लीम शफीगले एक विकेट लिए ।

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

उसका लागि लीम शफीगले सर्बाधिक नटआउट १९ रन बनाए । बलिङमा ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

कमेन्ट गर्नुहोस्