बास कैलाली र दारी ग्याङद्वारा भ्रष्टाचार विरुद्धको दिवसमा वक्तृत्वकला प्रतियोगिता

कैलालीः बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाको आयोजना तथा दारी ग्याङ धनगढीको आयोजनामो अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आइतवार धनगढीमा कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रममा सूचनाको हकको राष्ट्रिय सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति उमीद बागचन्दले भ्रष्टाचार मुक्त समाज निर्माणमा सबैको उत्तिकै भूमिका रहेको बताए ।

आर्थिक अनियमितता गर्नु मात्रै भ्रष्टाचार नरहेको बताउँदै बागचन्दले आफ्ना गलत आचरण पनि भ्रष्टाचार रहेको बताए । भ्रष्टाचार न्यूनिकरण गर्न सबैले एकजुट हुनुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष पाण्डव पुजाराले बास कैलालीले भ्रष्टाचार र सुशासनका क्षेत्रमा नितान्त सामाजिक कार्य गरिरहेको र बास देशका ७३ जिल्लामा रहेको बताए । ‘भ्रष्टाचार बिरुद्ध युवाको भूमिका’ विषयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसका छात्रा निधी ठाकुर प्रथम, नवराज जोशी द्धतिय, भरत साउँद तृतिय र बिकास जैशी चौथो भएका थिए ।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक गणेशराज जोशी, बास कैलालीका संस्थापक सचिव प्रेम ढुगांना, र सल्लाहकार ठाकुर करिया प्रधानको निर्णयमा भएको प्रतिस्पर्धाका उत्ृष्ट प्रतियोगिलाई, एचडिआरसीकाको सहयोगमा शैक्षिक सामग्रीसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

दारी ग्याङ धनगढीका सदस्य चुडामणि दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक गणेशराज जोशी, बास कैलालीका संस्थापक सचिव प्रेम ढुगांना, सल्लाहकार ठाकुर करिया प्रधान, युवा विद्यार्थी नेता समिर जोशी लगायतले मन्तव्य राखेका थिए ।

बास कैलालीका सचिव चिरन्जीबी छेडालले अथितीलाई खादा ओढाएर सम्मान गरेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हेमन्त जोशीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्