६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ ।

खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पुर्याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ । यसअघि भूमिगत विद्युत्गृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९।२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९।६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ ।

आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ । आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो ।

प्रतिवेदनहरू प्राप्त हुनासाथ सोअनुसार लगानीको मोडालिटीका विषयमा छलफल गर्ने तयारी प्राधिकरणको छ । पछिल्लो अध्ययनअनुसार आयोजनाको कुल लागत १।५५ अर्ब अमेरिकी डलर (१ खर्ब ७५ अर्ब रुपियाँ) रहेको छ । यसमध्ये एसियाली विकास बैङ्कले आयोजनाका लागि ५५ करोड डलर लगानीको प्रतिबद्धता जनाएको छ ।

“सम्भावित लगानीकर्तासँग अनौपचारिक छलफल भइरहेको छ तर डीपीआर प्राप्त नभएकाले निश्चित रूप पाउन सकेको छैन,” आयोजना प्रमुख श्रेष्ठले भने,

बाँधका कारण जलाशयदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दस किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारसम्म चार किलोमिटर क्षेत्रफल समेटिने देखिएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका करिब १६२ घर विस्थापित हुने प्रारम्भिक अनुमान रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्