मंसिरमा पनि बिहे हुन नसकेकाहरुलाई खुला पत्र !

प्रिय आत्मन्हरु, मंसिर शब्दले तपाईहरुको मनमा कता कता च्वास्स घोच्छ होला । यसपल्टको मंसिरले पनि तपाईहरुलाई धोका दिएर गयो ।

तर चिन्ता नगर्नुस् । अब माघसम्म कम्तीमा ढुक्कसँग बस्नुस् ।

मंसिर निकै जाडो महिना, र, यही जाडो महिनामा बिहेको सुन्दर कल्पना । बिहे अर्थात् दुई आत्माको मिलन । मंसिरका लागि भने तापमानमा वृद्धि गर्ने रिवाज ।

तपाईको मनमा पीडा होला, यसपल्ट पनि एक्लै । तर नआत्तिनुस् । बजारमा राम्रो कम्बलहरु आएका छन् ।
के बिहे गर्नैपर्छ त ? अहिले नभए अर्कोपल्ट होला ।

अब यही सोच्नुस् ।

बिहे भन्ने कुरा । गर्न मन लाग्दैन र गर्नैपर्छ । गर्न मन लाग्छ तर गर्न सकिन्न । यो यस्तै हो । अन्तमा जति उमेर पुगेपनि एकपल्ट बिहे गर्नैपर्छ । यो संसारका नीति हो । नियम हो । यसले नै संसार चलेको छ ।

तपाईका लागि यो मंसिर किन असुभ भयो त ?

किन तपाईले झ्याई झयाई बाजा बजाउन सक्नु भएन त ?

तपाईको दोष छ ?

या परिवारको ?

या समयको ?

मलाई भने सबैभन्दा बढी समयको दोष लाग्छ ।

कारण, तपाईले भनेजस्तो केटी नपाउने, भनेजस्तो केटीसँग बिह ागर्न घरकाले नदिने ।

घरकाले दिने भएपनि जागिर, सेटलमेन्ट, क्यारिअर, पढाई, रोजगारी जस्ता कतिपय फ्याक्टरका कारण बिहे गर्न नसक्ने ।
पहिला पहिला सजिलो थियो । यी कुनै पनि कुराले मंसिरमा बाधा पार्दैैनथे । १२, १४ वर्ष कटेपछि महिनामा साईत भए पुग्यो । बिहा एउटा नियमितता थियो । च्वाईस थिएन । एउटा परम्परा थियो । बुवा आमाले खोज्थे, केटाकेटीले स्वीकार गरेर बिहे गर्थे । बिहेको पहिलो रात बल्ल चिनजान हुन्थ्यो । अनि परिचय बाक्लो हुँदै जान्थ्यो । बच्चाबच्ची हुँदै जाँदा सम्बन्ध कतिखेर अगाडि बढदै गयो पत्तै पाइदैनथ्यो ।

अचेल त्यस्तो छैन । हामी हाम्रो मात्र दिमागले सोच्न र निर्णय गर्न सक्दैनौं । हामीलाई यस्तो केटी, यस्तो केटा भन्ने एउटा मापदण्ड दिमागमा पारिएको छ । सुन्दरता, पढाई जागिर, लगायतका कतिपय पक्षहरुमा यो ठीक त्यो ठीक भन्ने कुरा पारिएको छ । एउटा सपना पाल्न लगाईएको छ । हामीले फिल्ममा, कथामा, कवितामा या अन्य यस्तै यस्तै किसिमले मेरो बुढा या मेरो बुढी यस्ती होस् भन्ने कामना गरेका हुन्छौं । त्यसकै खोजीमा लाग्छौं । पूर्णता खोज्छौं । त्यो भेटिन्न । तत्कालको आकर्षणले प्रेममा पर्छौं । त्यसमा सबै पूर्णता देख्छौं । तर त्यो त मात्र मायाजाल न हो । तत्कालिन आकर्षणको अन्त्यसँगै त्यो जालो भत्किन्छ । अनि हिजो संसार नै तिम्रा लागि भन्ने जीवनसाथीसँग मनमुटाव हुन्छ । झगडा हुन्छ । कतिपयको त सम्बन्धविच्छेद पनि हुन्छ ।

कारण, हामी होइनौं । बरु हामीलाई सिकाइएको, हामीलाई देखाइएको पूर्णताको सम्बन्धको हो । सम्बन्ध को पूर्व परिभाषित मापदण्ड अनुसार हामीले सम्बन्धलाई विकास गर्न खोजे अवश्य नै तनाव हुन्छ । किनभने हामीले व्यवस्थापन गर्ने हाम्रा नियम र सूत्र खोज्दैनौं बरु तिनै मापदण्डमा हामी हिंडछौं । अनि उसको लोग्ने यस्तो तिम ीभने यस्तो , उसकी बुढी यस्ती तिम ीभने यस्तो भन्ने तर्फ हामी लाग्छौं ।

 

त्यसैले मंसिरमा बिहे हुन नसकेका मनुवाहरु, तपाईहरु भाग्यमानी हो । कम्तीमा तपाईले जीवनका केही पल स्वतन्त्ररुपमा विचार गर्न पाउनुहुन्छ । तपाईले भविष्यमा के कस्तो भनेर योजना बनाउन सक्नुहुन्छ ।

लेखेर राख्नुस्, तपाईले जति चिन्ता गरेपनि एक न एकदिन तपाईले कसैलाई पाउनु हुन्छ नै । तपाईको बिहे हुन्छ नै । त्यसो भए जोसँग बिहे भएपनि, चिनेको, माया गरेको या अपरिचितसँगै बिहे भएपनि बिहेपछिको जीवन व्यवस्थापनका लागि आफ्नै मापदण्ड बनाउनुस् । यो समय तपाईले पाउनु भएको छ ।

शारिरिक सम्बन्ध भनेको एउटा सामान्य प्रक्रिया हो । यो नै बिहाका लागि प्रमुख कारण नबनाउनुस् । किनभने समयसँगै यो आवेग रित्तिन्छ र व्यवहारिक जिम्मेवारी बढ्दै जान्छ । यो समय कठीन हुन्छ व्यवस्थापन गर्न । त्यसैले आफूले रोजेको खोजेको जीवनसाथीलाई यौन आवेग भन्दा पर रहेर व्यवस्थापनको पक्षमा कसरी व्यवस्थि तगर्ने होला भनेर सोच्नुस् ।
अहिले माघसम्म या उस्तैपरे अर्को मंसिरसम्म तपाईलाई मज्जाले यो सच्न सक्ने समय पाइएको छ ।

न आत्तिनुस्,

बिहे गरेकाहरु नमात्तिनुस्

बिहा र सम्बन्धका बारेमा केही समस्या र जिज्ञासा भए फेरी पनि तपाईहरुसमक्ष आउने वाचा सहित

उही तपाईहरुले नचिनेको पात्र

शकुन्तला

कमेन्ट गर्नुहोस्