रंगशाला हेर्न आउनेको घुइँचो, कति भयो आर्थिक संकलन?

चितवनः जिल्लाको रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।

विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि रु ६० हजार सहयोगसमेत गरेको बताए ।

याे पनि पढ्नुस  गौतमबुद्ध रङ्गशाला निर्माणमा पार्टी र सरकारले सहयोग गर्छः प्रचण्ड

राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलले बताए । कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने आएका उनले जानकारी दिए ।

निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ । पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उनले मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको जानकारी दिए । एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनले बताए ।

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै (फोटोफिचर)

रङ्गशालामा नमूना खेलमैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएका छन् । रङ्गशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उहाँले जानकारी दिए ।

याे पनि पढ्नुस  गौतमबुद्ध रङ्गशाला निर्माणमा पार्टी र सरकारले सहयोग गर्छः प्रचण्ड

निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुनसकेको छैन । ८ करोड हाराहारी बोलकबुल भएकामा रु एक करोड मात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक रु तीन करोड सङ्कलन भएको बताए ।

रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने उनले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्