हिउँ नपर्दै मुस्ताङमा खोलाको पानी जम्यो

मुस्ताङः यो बर्ष हिमपात सुरु नहुँदै हिमालपारीको जिल्ला मुस्ताङका खोला जम्न थालेका छन् । अत्याधिक चिसो बढेका कारण जनजीवन कष्टकर बन्न थालेको र मानिसहरुलाई घर बाहिर निस्कनै कठिन भइरहेको छ ।

तल्लो मुस्ताङमा भन्दा उपल्लो मुस्ताङमा रहेका दुई गाउँपालिकाहरू लो–घेकर, दामोदर कुण्ड र लोमान्थाङमा रहेका चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप लगायतका ठाउँमा चिसो बढेको छ । चिसोका कारण खोलामा बगिरहेको पानी र धाराबाट खस्दै गरेको पानी नै जम्न थालेको हो ।

स्थानीय तिलक विश्वकर्माका अनुसार उपल्लो मुस्ताङमा रहेका खोलानाला, धारा र सङ्कलन गरेर राखिएको पानीसमेत जमेको छ। ‘तल्लो मुस्ताङको तापक्रम माइनस ७ डिग्रीसम्म झरेको छ। माथिभन्दा त तल न्यानो हुने नै भयो।’ उनले भने, ‘खोला र धाराको पानी जम्नको लागि लगभग माइनस २० डिग्री हुनुपर्छ।’

मङ्सिर, पुस र माघ महिनामा मुस्ताङको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियस र अधिकतम माइनस २५ डिग्री सेल्सियससम्म मापन गरिएको छ । चिसोका कारण बाहिर निस्केर काम गर्न समस्या हुँदा मुस्ताङीहरुलाई दैनिकी सञ्चालनमा कठिनाइ हुन थालेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङ बताउँछन् ।

उनका अनुसार बुधवार बिहान बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ।

कमेन्ट गर्नुहोस्