गृहमन्त्री थापाले भने, ‘भारतको ‘काउन्टर’ मा सीमा सुरक्षा बल बढाउँछौं’

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारतबाट भइरहेको अतिक्रमण रोक्न सीमाक्षेत्रमा सुरक्षा बल बढाइने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुका अनेक प्रश्नको सामना गरेपछि जवाफ दिँदै मन्त्री थापाले सबै सीमा बिन्दुसम्म सडक निर्माणलाई पनि अघि बढाइएको उल्लेख गरेका छन् ।

भारतको तर्फबाट सीमामा निरन्तर सुरक्षा पोस्ट विस्तार भइरहेको छ। एसएसपीले सीमा सुरक्षा गरिरहेकोमा सेना पनि राखेका छन्’, उनले भने, ‘भारतको ‘काउन्टर’मा हाम्रा सीमा रक्षा सुरक्षा बल बढाइने छ । तत्काल गर्नु पर्ने सडक निर्माण पनि तीव्र पार्दैछौं । अब तीव्र गतिमा सुरक्षा बल विस्तार गरिनेछ ।’

गृहमन्त्री थापाले भारतसँगको सीमा १८०० किलोमिटर रहेको उल्लेख गर्दै तर नेपालबाट पर्याप्त सुरक्षाकर्मी राख्न नसकिएको स्वीकारे । ‘सीमना सुरक्षामा सशस्त्र प्रहरी छ । सीमासुरक्षाका निम्ति ३७ हजार संख्यामा एपीएफ छ’, उनले भने, ‘तर यो संख्या प्रयाप्त होइन ।’

गृहमन्त्री थापाले दार्चुलाको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट विस्तारमा सरकार जुटेको उनले बताए । ‘दार्चुलामा बिओपी विस्तार गरिँदैछ’, उनले भने, ‘सीमा नजिक सशस्त्र प्रही राख्‍न सकिएको छैन। अब विस्तार गरिने छ ।’

भारतले हरेक किलोमिटरमा सीमा सुरक्षा बल रहेको उनले बताए । ‘भारतले हरेक किलोमिटरमा सीमा सुरक्षा पोस्ट राखेको छ । हाम्रो २५ किलोमिटरको ग्यापमा छ’, उनले भने, ‘अब नयाँ ढंगले सुरक्षा पोस्ट राख्‍नु जरुरी छ ।

भारततर्फ नेपालका १०२ बोर्डर आउट पोस्ट छन् । हामी अब ७० वटा थप विस्तार गर्ने योजनामा छौँ। सुरक्षाकर्मीको संख्या अपर्याप्त भएकोले दरबन्दी बढाइएको छ ।’

कमेन्ट गर्नुहोस्