‘सिद्धबाबा’लाई फेरि तीन दिनको म्याद थप

सुनसरीः आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि तीन दिनको म्याद थप गरेको छ ।

शुक्रबार न्यायाधीश खिमानन्द पौडेलको इजलासले आउँदो सोमबार अदालतमा पेस गर्नेगरी म्याद थप गरेको हो ।

अदालतले थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माकाअनुसार आरोपी गिरीसितको बयान सकिएको छ ।

गिरीले दुईपटक गरी ११ दिनको म्याद अस्पतालमै गुजारेका छन् । अदालतको आदेशानुसार अस्पतालमै उनीसित बयान लिइएको हो ।

शुक्रबार पनि तीन दिनको दिन म्याद थपपछि पुनः विराटनगरस्थित विराट नर्सिङहोममै लगिएको छ । उनलाई त्यहीँबाटै अदालत लगिएको थियो ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएको जनाएको छ ।

सोको नतिजा आउन समय लाग्ने भन्दै प्रहरीले शुक्रबार १० दिन म्याद थपका लागि अदालतसित अनुमति मागेको थियो ।

सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले यही मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीय’कक्षबाटै पक्राउ गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा उपचाररत् छन् ।

कमेन्ट गर्नुहोस्