बझाङमा भारी हिमपात, जनजीवन प्रभावित

बझाङः सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उच्च भेगमा भारी हिमपात भएको छ ।

जिल्लाको छबिस पाथिभेरा, सुर्मा, साइपाल,  केदारस्यू गाउँपालिका र बुंगल नगरपालिका लगायत विभिन्न ठाउँमा हिमपात भएको हो ।

बझाङको विभिन्न पहाडी क्षेत्रमा गए रातिदेखि हिमपात भएको जिल्लाको छबिस पाथीभेरा गाउँपलिका–७ का आनन्द धामीले जानकारी दिए ।

भारी हिमपातसँगै यहाँको जनजीवन कष्टकर भएको स्थानीय धामीले बताए । भारी हिमपातका कारण सबैभन्दा बढी वृद्धवृद्धा, केटाकेटी प्रभावित भएका छन् ।

साथै हिउँ धेरै परेपछि गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या भइरहेको स्थानीयले बताएका छन् ।

बझाङमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । हिउँ परेपछि यहाँका विद्यालय पनि केही दिनका लागि बन्द गरिएका छन् ।

समयमै हिमपात भएपछि कृषक भने हर्षित भएका छन् । गत वर्षहरुमा ढिला गरि हिउँ पर्ने भएकाले चिन्तित हुने किसान योपटक भने समयमै हिउँ परेपछि राहत मिल्ने आशमा रहेका छबिस पाथीभेरा गाउँपालिका–७ कै दले बोहराले बताए । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्