माघभित्र बागमतीको फोहोर प्रशोधन केन्द्र सम्पन्न हुन्छः मन्त्री मगर

काठमाडौंः काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन अवस्थामा रहेको बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुनेछ ।

शुक्रबार खानेपानीमन्त्री बीना मगरले उक्त प्रशोधन केन्द्रको निरीक्षण गर्दै आगामी माघ महिनाभित्र बागमतीको फोहोर प्रशोधन केन्द्र सम्पन्न गरिसक्ने बताइन् ।

फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, मन्त्री मगरले भनिन्, “प्रशोधन केन्द्रको सम्पूर्ण काम सकिएको छ अब पार्क निर्माण र हरियाली बनाउने काम मात्र बाँकी छ ।” उनले केन्द्रको उद्घाटन समेत माघ महिनाभित्रै गरिने बताइन् ।

उक्त प्रशोधन केन्द्र एक अर्ब ५० करोड रुपैयाँमा निर्माण हुन लागेको हो । प्रशोधन केन्दका लागि एसियाली विकास बैंकले एकअर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । मन्त्री मगरले फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधन केन्द्रबाट बायो ग्यास र विद्युत समेत उत्पादन हुने जानकारी दिइन् । उनले उक्त प्रशोधन केन्द्रले दैनिक तीनकरोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्ने बतायन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख भोजविक्रम थापाले प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने जानकारी दिए । उनले उक्त फोहोर पानी प्रशोधन केन्द्रबाट तीनसय ५० केभि विद्युत उत्पादन हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्