मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छुः अध्यक्ष शर्मा

ललितपुरः राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उनले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताए ।

‘स्वतन्त्र भएर मानव अधिकार बहालीका लागि काम गर्छु’ अध्यक्ष शर्माले भने, ‘मानव अधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ, नेपाली जनता सबैमा हामी एक हुँ भन्ने भावना रहुनजेल समाज विखण्डन हुँदैन ।’

एक सातासम्म चलेको महाभेलाले मानव अधिकारका क्षेत्रमा आगामी दिनमा योजनाबद्ध तरिकाले अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको र योजनाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । महाभेलाका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष जीतराम लामाले महाभेलाका अवसरमा ५० जिल्लामा विभिन्न कार्यक्रम गरेको र अर्को वर्ष सबै पालिकास्तरमा गएर मानव अधिकार रक्षाका कार्यक्रम गर्ने जानकारी दिए ।

मधेसी आयोगका अध्यक्ष डा विजय दत्तले मुलुकमा काम गर्ने मानव अधिकारसम्बन्धी सबै मिलेर मानव अधिकार संरक्षण र संवद्र्धनका लागि लाग्नुपर्नेमा जोड दिए । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा चुनौती भएको र आम मानिसको बीचमा लैजाने भन्ने विषयमा ध्यान दिएर अघि बढ्न सुझाव दिए ।

यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म चलेको सो कार्यक्रममा २ सय बढी सङ्घसंस्था सहभागि भएका थिए । मानव अधिकारकर्मीले वर्षैभरीनै मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहने मत जाहेर गरेका थिए ।

कमेन्ट गर्नुहोस्