अमेरिकामा नेपाली टेनिस खेलाडी शर्भानीले जितिन् ४ पदक

विजय थापा, डिसीः काठमाडौँको सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छिन् ।

१४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा ४ वटा पदक जितेकी हुन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनी टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् ।

सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् ।

१३ औँ बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पामबीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

शर्भानीले आफ्ना उमेरका अन्तर्राष्ट्रिय किशोर–किशोरीहरुसँग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनलाई आयोजकले मुक्त कण्ठले प्रशंसा गर्दै पहिलो पटक नेपालबाट टेनिस खेल्न आएकोमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् ।

शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी) मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान (रजत पदक) हासिल गर्न सफल भएकी छिन् । यसै गरी १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनलाई चोथौ स्थान हासिल भएको छ ।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रियबाट आएका करिव ५ सय जना मध्ये उनको उत्कृष्ट खेललाई उच्च सम्मान गर्दै उनलाई समग्र खेलको लागि उच्च प्रतिष्ठित पुरस्कार कृपा (काईण्डनेस) पुरस्कार प्रदान गरिएको छ ।

यसरी यो लगायत ४ वटा पदक जित्ने शर्भानी पहिलो टेनिस खेल्ने नेपाली किशोरी भएकी छिन् । उनकी आमा योगिता प्रधान श्रेष्ठका अनुसार शर्भानीले १० बर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेको बताइन् ।

१४ बर्ष मुनिको उमेरको खेलाडीमा नेपाल भित्र आयोजना हुने खेलमा सक्रिय रुपमा सहभागी हुने गर्छिन भने शर्भानीले नेपालमा भएको बिभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् ।

उनलाई यस खेलमा तालिम दिलाउन शर्भानीका मातापिता अन्य देशमा उनलाई लाने गर्छन । चीन, भारत लगायत यस पटक अमेरिकामा टेनिस खेल्न अमेरिका मातापिताको साथमा फ्लोरिडा आएका हुन् ।

शर्भानीले गत बर्ष सन् २०१८ मा सम्पन्न पोखरा ट्रेकर्स इन यू–१४ जुनियर एटिएफ टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा शर्मानीले भारतकी प्रियांसी चौहानलाई पराजित गरेकी थिइन् । यस्तै नेपालमा सम्पन्न एटिएफले आयोजना गरेको प्रतियोगिता पनि उनी प्रथम भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्