बस दुर्घटनाका मृतकप्रति अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज एक शोक वक्तव्य निकालेर उक्त घटनाका घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

उनले दुर्घटनामा निधन भएका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गरेका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा२ख ४४६८ नंको यात्रुबाहक बस लामोसाँघु जिरी सडकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए ।

यसैबीच प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि उक्त दुर्घटनाले आफू निकै मर्माहित भएको बताउँदै दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति दुःख एवं समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्