काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक पुस २३ गतेदेखि बस्ने भएको छ ।
राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो । विधान प्रतिवेदनमाथि भने केन्द्रीय समितिमा छलफल हुने भएको छ। केन्द्रीय समितिमा छलफलपछि मात्र विधान प्रतिवेदन पारित हुनेछ ।
केन्द्रीय समिति बैठक राजधानीमा बस्ने निश्चित भए पनि ठाउँको भने टुंगो नलागेको नेता भीम रावलले बताए ।
स्थायी समितिमा सबैभन्दा बढी विवादास्पद बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा थप छलफलपछि सचिवालयले टुंगो लगाउने भएको छ । अघिल्लो आइतबार सुरु भएको स्थायी समिति बैठक आज टुंगिएको हो ।
शनिबार नै टुंगिने भनिएको बैठक एमसीसीकै विवादका कारण एक दिन लम्बिएको थियो । आइतबार पनि यो विषयमा सहमति नजुटेपछि सचिवालयलाई विवाद समाधानको जिम्मेवारी दिँदै बैठक टुंगिएको हो ।