काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्ग होबार्ट हरिकेन्सविरुद्ध पनि मेलबर्न रेनेगेड्स ७ विकेटले पराजित भएको छ ।
मेलबर्नले दिएको १ सय ४९ रनको विजयी लक्ष्य हरिकेन्सले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि डीअर्सी सर्टले ६०, बेन म्याकडर्मोटले अविजित ५५ र डेभिड मिलरले नटआउट २५ रन बनाए । बलिङमा मेलबर्नका लागि टम कपूरले २ र क्यामेरन ब्यासले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङको मौका पाएको मेलबर्नले १९.१ ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो ।
उसका लागि कप्तान आरोन फिन्चले सर्बाधिक ५० रन बनाए । बलिङमा होबार्टका जेम्स फाल्कनर, नाथन एलिस र रिले मेरीडिथले ३–३ विकेट लिए ।
गत संस्करणको विजेता समेत रहेको फिन्चको टिम मेलबर्नको यो लगातार दोस्रो हार हो ।
यो सिजनको बीबीएलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलिरहेका छन् । उनी यो संस्करणमा पनि मेबलर्न स्टार्सबाट खेलिरहेका हुन् ।
सन्दीपआवद्ध मेलबर्नले सुरुवातका २ खेलमा जित हासिल गरिसेको छ । मेलबर्नले आफ्नो तेस्रो खेल शुक्रबार राशिद खानआवद्ध एडिलेड स्ट्राइकर्सविरुद्ध खेल्दै छ । जारी बीबीएलमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् ।