तिमीलाई म के भनुँ, नेता भनुँ कि, द…भनुँ

प्रशान्त आजाद

प्रेमील भावनाहरु गज्जबका हुन्छन् । प्रेमले हृदय पगाल्छ भन्छन् । र, यही पग्लेको रसमा कैयन भाव जन्मिन्छन् । कैयन् उपमा बनाइएका हुन्छन् ।

जस्तोः

तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ ।

यहाँनेर प्रेमीले प्रेमिकाको सुन्दरतालाई जून र फूलसँग तुलना गर्न खोजेको छ । अर्थात्, मेरी प्रियसी तिमी त जून जस्तै सुन्दर छौ, तिमी त फूल जस्तै सुन्दर छौ ।

यस्ता उपमा कैयन् पाइन्छन् ।

हाइस्कूलमा पढ्दा फिगर्स अफ स्पिच भन्ने पढिन्थ्यो । त्यसमा हाइपरबोला भन्ने एउटा शब्द थियो । कुनै कुराको अतिशयोक्तीलाई प्रकट गर्ने शब्द । सरले एउटा उदाहरण दिन्थे..मेलिना स्माइल्ड एण्ड अल द वल्र्ड बिकम हेप्पी अर्थात् मिलिन्दा मुस्कुराउँदा सिँगो संसार नै हाँस्यो रे ।
आदि इत्यादी ।

खैर, यो भयो प्रेमको कुरा ।

नेपाली समाजको दरिद्रता, गरिबी, भोकमरी, दयनीय जीवनमा पनि यस्ता कैयन् उपमा बने । खासगरी नेपालका कम्युनिष्टहरुले सपना देखाउने क्रममा यस्तो उपमाहरुको विकास गरे । कम्युनिष्टहरु त्यसै पनि साहित्यकार । कल्पनाकार । उनीहरुले दुई छाक खान नपाएको मानिसलाई साम्यवादमा पाइने असीमित खाना पस्किदिन्छन् । आँसु नै आँसुको जिन्दगीमा उनीहरुले शब्दबाटै घाम झुल्काइदिन्छन् । र, यस्ता सपनाका उपमा कति दिए कति साध्य छैन ।

अनि यी सपना देखेपछि जनताले भन्थे– वाह, यस्तो पो व्यवस्था । यस्तोका लागि यो ज्यान के ठूलो कुरा भो र ?

गाउँमा संगठन गर्न जाँदा कम्युनिष्टहरुले भन्ने पहिलो शब्द शोषण हुन्थ्यो । तपाईहरु किन शोषित हुनुहुन्छ ? किन गरिब हुनुहुन्छ ? यसको कारण थाहा छ भनेर सोधिन्थ्यो ।

जनतालाई त्यसपछि शोषणको कारण र समाजवाद अनि साम्यवादको सुन्दर सपना पस्किने गरिन्थ्यो ।

अहिले पनि यो क्रम जारी नै छ ।

तर यथार्थमा नि…। न हिमाल हाँस्छ, न त फूलैफूलको जीवन बन्छ ।

यी सपनामा सुन्दर संसार हुन्थ्यो, सुन्दर समाज हुन्थ्यो । उँचनीच नभएको समाज, भेदभाव नभएको समाज, कोही धनी कोही गरिब नहुने समाज । सबै सुकिला, सबै हँसिला । अनि यी सपना देखेपछि जनताले भन्थे– वाह, यस्तो पो व्यवस्था । यस्तोका लागि यो ज्यान के ठूलो कुरा भो र ?

तर यी साहित्यकारले भन्ने शब्द न थिए । साहित्यकारका लागि हिमाल हाँस्छ । साहित्यकारका लागि पहाड रुन्छ । साहित्यकारका लागि जून र तारा प्रेमिका हिँडने बाटोमा बिछ्यायन सकिन्छ ।

तर यथार्थमा नि…। न हिमाल हाँस्छ, न त फूलैफूलको जीवन बन्छ ।

अनि “सबै केटा उस्तै हुन” भनेर प्रेमिकाले भनेझैं जनताले भन्छन्– जुन जोगी आए पनि कानै चिरेको… ।

ठीक यस्तै राजनीतिमा पनि देखियो ।

सपनाको बलमा टिकेकाहरु सत्तामा पुगेपछि त्यहाँ केही फरक भएन । प्रेमपछि बिवाह गर्ने जोडीले दुई चार वर्षपछि भोग्ने तिक्तता आम जनताले पनि भोग्न पुग्छन् ।

तिमीसँग भेट नभएको भए…

यो शब्द प्रेमी प्रेमिका र जनताको मनमा समानरुपमा आउने गर्दछ ।

अनि एउटा वितृष्णा र सम्झौताको समय शुरु हुन्छ । अहिले राजनीतिको समतुल्य ।

न हामी विगतमा फर्किन सक्छौं, न त अहिलेको अवस्था नै पचाउन सक्छौं । यो वितृष्णामा हामी बाँच्छौं ।

नेताहरु सिंहदरबार छिरेपछि उनीहरु अर्कै प्राणीमा रुपान्तरित हुन्छन् । सिंहदरबारको ढोका मानौं जादूई ढोका हो । त्यहाँ जानु अघि र त्यहाँ पसेपछि ठ्याक्कै उल्टो भइदिने । सडक र सदन । सडक र सरकार अभिन्न तर ठ्याक्कै विपरित चरित्रका ।

अनि ती सपनाको चाङमा उनीहरुको व्यक्तिगत सपना पुरा हुन थाल्छन् । व्यक्तिगत महत्वाकांक्षा पुरा हुन्छन् । उनीहरु उनी रहँदैनन । कोही अरु बन्छन् । हिजो शोषणको कुरा सिकाउने भन्दा फरक । हिजो सपना देखाउने भन्दा फरक । बिस्तारै आफ्नै अगाडिका शोषक र उनीहरुमा कुनै फरक देखिँदैन् । अनि “सबै केटा उस्तै हुन” भनेर प्रेमिकाले भनेझैं जनताले भन्छन्– जुन जोगी आए पनि कानै चिरेको… ।

अनि हिजोका जूनहरु कालो रात बन्न पुग्छन् । हिजोका फूलहरु अब सुकेर झर्न थाल्छन् । जनताका लागि भने नेताहरु दलाल देखिन्छन् । ठग देखिन्छन् । बसन्तको मौसम हैन तुसारोको याम देखिन्छन् ।

यो नियमितता चलेकै छ । तर सपना नै देख्न छोडने भन्ने चाहिँ होइन । किनभने प्रेम त फेरी पनि प्रेम हो । सपना फेरी पनि सपना हो । सपनाको हत्या गर्नेहरु चिन्न सक्नुपर्छ । भावावेशमा गरिने प्रेम र भावनामा बगेर समातिने राजनीतिको नियती एउटै हो । यहाँ सच्चा प्रेमी पनि छन्, सच्चा नेता पनि छन् । सत्तालाई कसले कसरी बुझ्छ र हेर्छ भन्ने कुरा मुख्य हो ।

बिट मारौं, यो सपनाको खेती हुने संसारमा केही राम्रा हुँदा पनि केही नराम्राले नै अधिकांश राम्राको बदनाम गरिसकेका हुन्छन् । त्यसैले जनताको मनमा गीतको बोल आउन थाल्छ

तिमीलाई म के भनुँ,
नेता भनुँ कि दलाल भनूँ
तिमीलाई म के भनुँ ….
मुक्तिदाता भनुँ, कि व्यापारी भनुँ …

कमेन्ट गर्नुहोस्