काभ्रेः भैंसी संरक्षण र सम्वद्र्धन अभियानमा लागेको पनौती नगरपालिका पाडी वितरण सुरु गरेको छ ।
नगरले पनौती नगरपालिका वडा न १ बाट किसानलाई पाडी वितरण सुरु गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच प्रदेश न ३ का सांसद बसुन्धरा हुमागाईले २३ पशुपालक कृषकलाई मुर्रा जातका पाडी वितरण गरिन् । पशुपालक कृषकले गोला मार्फत नम्बर छानेका थिए ।
रौतहट, बारा लगायत तराई जिल्लाबाट ल्याएर नगरले पाडी वितरण गरेको हो । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले तीन सय पशुपालक कृषकलाई पाडी वितरण गर्ने बताए । पनौतीलाई भैंसी स्रोत केन्द्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । नगर प्रमुख न्यौपानेले भने, ‘पहिलो चरणमा दलित, जनजाती, लोपन्मुख समुदाय र एकल महिलालाई प्राथमिकता दिएका छौँ ।’
पनौती नगरपालिकाले नीति तथा कार्यक्रम मै उन्तत जातका पाडी तीन सय पशुपालक किसानलाई बाँड्ने घोषणा गरेको थियो । भैंसीलाई सुत्केरी भत्ता दिदैँ आएको नगरले यस बर्षबाट थप पाडी वितरण गर्न थालेको नगरप्रमुख न्यौपानेले बताए ।
पनौती नगरपालिका कृषि तथा पशुपन्क्षी शाखाका संयोजक एवम् वडा न १ का वडा अध्यक्ष गुणनिधी सापकोटाले नगरपालिकाबाट ९० लाख र किसानबाट १५ लाख रुपियाँ सहित एक करोड पाँच लाखमा तीन सय पाडी वितरण गर्न लागेको बताए । उनले नगरपालिकाले खुराक, औषधि र बीमा निःशुल्क गर्ने बताए ।