पारस नेतृत्वको चितवनले जित्यो पीपीएलको उपाधि

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि पारस खड्का नेतृत्वको चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि जितेको हो ।

उपाधिसँगै चितवनले २७ लाख रुपैयाँ हात पारेको छ । उपविजेता विराटनगरले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलमा चितवनले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

उसका लागि मोहम्मद जैद आलमले ५७, कप्तान प्रदीप ऐरीले ३६, पुनित मेहेराले ३२, नोमन खानले १८ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा चितवनका करन केसीले ३, शन्नी पटेलले २ र रोहन मुस्तफाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।

उसका लागि रोहन मुस्तफा, अनिलकुमार शाहले ५०–५०, कप्तान पारस खड्काले २५, आरिफशेखले १९, शन्नी पटेलले अविजित १६ र करण केसीले ८ बलमा नटआउट २६ रन बनाए ।

बलिङमा पुनित मेहेरा, मोहम्मद जैद आलमले २–२ र किशोर महतोले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्